स्वच्छ नेपाल अभियान दशक घोषणा गर्न आग्रह ; मेयरहरु आफ्नो नगरलाई प्रदूषणरहित स्वच्छ राख्न प्रतिबद्ध

Share

काठमाडौं, ५ मंसिर । स्वास्थ्य र सरसफाईसम्बन्धी जनचेतना अभिबृद्धिसहित प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपाललाई पर्यटकको आकर्षण र सुरक्षित आवास योग्यमुलुक बनाउन सरोकारवालाहरुले सरकारसंग स्वच्छ नेपाल अभियान दशक घोषणा गर्न आग्रह गरेका छन् ।

विश्व शौचालय दिवस(वल्र्ड ट्वाईलेट डे) नोभेम्बर १९ का अवसरमा राजधानीमा आयोजित एक वेबिनारका वक्ता र सहभागीहरुले सो आग्रह गरेका हुन् ।

खानेपानी तथा सरसफाईको क्षेत्रमा कार्यरत स्मार्ट वास सोलुसन्स प्रा.लि.द्धारा आयोजित कार्यक्रममा बोल्दै नेपाल नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो,’सरसफाईको कति आवश्यक छ भन्ने कुरा अहिलेको कोरोना भाइरसको महामारीले पनि देखाएको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपाललाई स्वच्छ,सफा,हराभरा बनाउन सरसफाई दशक मनाउनु आवश्यक छ । मलाई त विश्वास छ नेपाललाई सरसफाई र स्वास्थ्यका हिसाबले पनि संसारको बस्नयोग्य मुलुकको शीर्षमा पुर्याउन सकिन्छ ।’

उहाँले नगरपालिकाका सबै मेयरहरु आफ्नो नगरलाई प्रदूषण र दुर्गन्धरहित स्वच्छ राख्न प्रतिबद्ध रहेको र आफूले कुरा गरेका चार प्रदेशका मुख्यमन्त्रीहरु पनि सरसफाई अभियान सञ्चालन गर्न इच्छुक रहेको जानकारी दिंदै भन्नुभयो,’ प्रधानमन्त्रीको हस्ताक्षरसहित प्रतिबद्धता आइसकेको छ । पहिलो चरणमा हरेक प्रदेशका १० । १० नगरपालिकामा स्वच्छ शहर अभियान चलाऔं । एक दशकमा पूरै नेपाल स्वच्छ,सफा र हराभरा बनाउन सकिन्छ ।’

http://aashanews.com/archives/35552

उहाँले राजनीतिक इच्छाशक्ति भएर पनि प्रशासनिक र प्राविधिक पक्षलाई समानरुपले अगाडि लैजान नसकेकोले सोंचे अनुकूल नतिजा नआएको बताउदै सरसफाईसम्बन्धी सरकारका तीनै तहबाट कानून ल्याएरै अभियान चलाउनु पर्ने बताउनुभयो।

उहाँले नगरपालिकामा वातावरणविद्को दरबन्दी सिर्जना गरेर सरसफाईलाई हेर्ने व्यवस्था गर्नु उपयुक्त हुने पनि बताउनुभयो ।

नगर प्रमुख ब्याञ्जुले आफ्नो नगरपालिकाले आफ्नो घरपरिवार र उद्योगका कारखानाबाट निस्केका फोहरमैला र पानीहरुको प्रशोधन गर्ने प्लान्ट जडान गर्नेलाई कर सहुलियत दिन थालेको पनि बताउनुभयो ।

उहाँले नेपाल खुला दिशामुक्त मुलुक घोषणा भएपनि दलित,सुकुम्बासी,सीमान्तकृत र पिछडिएको वर्गका नेपालीहरुको घरमा शौचालयको अभाव भएकोले सो समस्या समाधान गर्न पनि विशेष ध्यान दिनुपर्ने बताउनुभएको थियो ।

कार्यक्रममा प्रमुख वक्ताको रुपमा रहनुभएका बिल एण्ड मिलिन्दा गेटस् फाउण्डेशनको ग्लोबल ग्रोथ एण्ड अपच्र्युनिटी डिभिजन,वाटर स्यानिटेशन एण्ड हाइजिनका डेपुटी डाइरेक्टर डा. रोशनराज श्रेष्ठले दिगो र सुरक्षित ढंगले व्यवस्थापन गरिने सरसफाई सेवाका बारेमा मन्तव्य दिनुभएको थियो ।

जलवायु परिवर्तनका कारण पानी पर्ने प्रकृतिमा भएको परिवर्तन, हिमालको हिँउदेखि नदी तथा पानीका मुहान, पोखरी र तलाउहरु सुक्ने असर देखिएको बेला पानीको संकलन, सदुपयोग र भावि परिदृश्य हेरेर नयाँ नगर,शहर र बस्तीहरुको विकास गर्नुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो,’ हामी विकास प्रयासहरु जलवायु परिवर्तनका असरहरुलाई सहन सक्ने वा तीसंग दातात्म्य रहने गरी थालिनु पर्दछ ।’

उहाँले जलवायु परिवर्तनको क्षेत्रमा काम गर्ने विश्व जलवायु कोषमा ५ अर्ब डलरको धनराशी भएतापनि सरसफाईको क्षेत्रमा त्यसको शून्य दशमलव शून्य दुई पाँच (०.०२५)प्रतिशत रकम मात्र विनियोजन भएकोले त्यहाँबाट ठूलो सहयोगको अपेक्षा गर्न नसकिने तर आफूले काम गरेको क्षेत्रको तथ्यांक आधार र काम गरेको नतिजाको राम्रो अभिलेख राखिएमा अन्य सामाजिक क्षेत्रमा कार्यरत संस्थाहरुले नै सहयोग गर्ने बताउनुभयो ।

उहाँले बिल एण्ड मिलिन्दा गेट्स फाउण्डेशनले पनि संसार भर सरकारी,गैरसरकारी र निजी संस्थाहरुको साथै विश्वविद्यालयहरुसंग मिलेर खानेपानी र सरसफाईको क्षेत्रमा काम गरेको पनि बताउनुभयो ।

कार्यक्रममा खानेपानी तथा सरसफाई विज्ञ सञ्जय अधिकारीले ललितपुरको महालक्ष्मी नगरपालिकामा भएको सरसफाई कार्यक्रमको बारेमा प्रस्तुति दिनुभएको थियो भने इञ्जिनियर केशवराज विष्टले मेचीनगर नगरपालिकामा भएको ढलप्रशोधन केन्द्रको सञ्चालन प्रकृया र प्राप्त शिक्षाका बारेमा तयार पार्नुभएको पावर प्वाइन्ट ई.हरिप्रसाद शर्माले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा खानेपानी तथा ढल निकास विभागका ई. देबेन्द्र झाले नेपालले खुला दिशामुक्त अभियान अन्तरगत घरघरमा शौचालय निर्माणको अभियान सफलतापूर्व सम्पन्न गरेको उल्लेख गर्दै त्यसपछिको कार्यक्रम तय गर्न बिलम्ब भैसकेको बताउनुभयो ।

ई.  झाले घरघरको शौचालयमा जम्मा भएको दिशा र पिशाबलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सबै गाउ र नगरपालिकाका प्रमुखसहित यस क्षेत्रको जिम्मेवारी लिने पदाधिकारीहरुले सोच्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा डा.शान्ति सुवेदीले दिशापिशाबजन्य फोहरमैलाबाट ग्यास उत्पादन गरेर घरायसी  ऊर्जामा रुपान्तरण गर्ने सकिने र यसले दीगो समाधान दिने बताउनुभएको थियो ।

वेबिनारमा स्वागत मन्तव्य प्रकट गर्दै स्मार्ट वास सोलुसन्सका अध्यक्ष ई. रामदीप साहले दिशापिशाबजन्य फोहर मैलाको व्यवस्थापन सरसफाई क्षेत्रको मुख्य चुनौती रहेको यसको दीगो समाधान खोज्न संस्थाले सबै क्षेत्रका सरोकारवालाहरुलाई एकै मञ्चमा ल्याएको बताउनुभएको थियो ।

कार्यक्रमको शुभारम्भ गर्दै पूर्व मन्त्री ई. गणेश साहले ढल र नालीको व्यस्थापन देशभर चुनौतिको रुपमा देखा परेकोले यसको दीगो समाधान खोज्न आवश्यक भएको बताउनुभएको थियो ।

स्मार्ट वास सोलुसन्सका कार्यकारी अधिकृत ई.हरिप्रसाद शर्माले सहजीकरण गर्नुभएको सो वेबिनारमा स्मार्ट वासका डाइरेक्टर हर्कबहादुर क्षेत्रीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।