नेपाल नगरपालिका संघले वैज्ञानीक ढंगबाट मुल्याङ्कन प्रणालीको विकास गर्न सरकारको ध्यानाकर्षण गराएको छ । बिहिबार काठमाडौंमा स्थानिय सरकारका मुल्याङ्कन प्रणालीहरू LISA,FRA र LED लाई एकिकृत गर्ने बारे संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको राष्ट्रिय कार्यशालामा बोल्दै संघका अध्यक्ष भीम प्रसाद ढुंगानाले तीन वटा प्रणालीलाई एकिकृत गर्ने विषय सकारात्मक भए पनि मुल्याङ्कन विधि स्थानिय शासन मुताबिक हुनुपर्ने बताउनु भयो । उहाँले स्थानिय शासन व्यवस्था, भौतिक पूर्वाधारको अवस्था, सामाजिक आवश्यकता र दायित्व, विपद् व्यवस्थापन तथा पर्यावरण ठाउँ अनुसार फरक हुने भएकाले सबैलाई हुने गरि र जनतामैत्री शासन संचालन गर्न प्रेरीत गर्ने खालको मुल्याङ्कन विधि आवश्यक छ भन्नुभयो । संघिय मामिला मन्त्रालयका सचिव भरतमणी सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिका संघका पदाधिकारी, कार्यकारी निर्देशक, मन्त्रालयका सहसचिवहरू, गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष तथा पदाधिकारी र दर्जन बढी नगर तथा गाउँ पालिकाका प्रमुख तथा अध्यक्षको सहभागिता रहेको थियो ।