नगर सरकारहरुमा जलबायु परिवर्तनका मुद्दा

Share

काठमाडौं । स्थानीय तहमा जलबायु परिवर्तन र बिकासका अन्तर सम्बन्ध, प्रभाव र असर सम्बन्धि ज्ञान, अनुभव तथा असल सिकाइ आदान गर्न सोमबारबाट क्लाइमेट एण्ड डिभलपमेन्ट नलेज नेटवर्क परियोजना शुरु गरिएको छ । लोकल गभर्मेन्ट फर सस्टेनेबिलिटी (इक्ली) को आयोजना र नेपाल नगरपालिका संघको संयोजनमा शुरु भएको परियोजनामा जलबायु परिवर्तन व्यवस्थापनका लागि स्थानीय तहहरुमा भएका असल अभ्यास तथा सूचना प्रवाह गरिनेछ ।

परियोजना शुरुवात् गर्दै नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार व्याञ्जु श्रेष्ठले — दिगो बिकास लक्ष्य पूरा गराउन स्थानीय तहहरुमा बिकासका विश्वव्यापी अभ्यास र असरका बिषयमा ज्ञान हुन जरुरी रहेको बताउनुभयो । स्थानीय बिकासका लागि पहिचान गरिएका बिकास आवश्यकता पूरा गर्दा यसका अन्तर सम्बन्ध पनि हेर्नु पर्छ । अनि मात्र बिकास दिगो हुन्छ । उहाँले थप्दै भन्नुभयो — अहिले नेपालका स्थानीय तहले एकल र साझा अधिकार प्रयोग गरेर नागरिकलाई सहज महसुस गराउनु छ । यसका लागि आवश्यकता पहिचान गर्ने र तिनलाई दिगो व्यवस्थापन गर्ने दिशामा ज्ञान तथा सीप बढाउन परियोजनाले टेवा दिनेछ । सोही कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले — जलबायु परिवर्तनको असरबाट महिला, बालबालिका, जेष्ठ नागरिक तथा अपाङ्ता भएका मानिसहरुमा सिधा र प्रत्यक्ष असर पर्ने बताउँदै यस्ता समस्यासँग जुध्न साझा बुझाइ र साझा कार्यक्रम निर्माण गर्नु पर्ने बताउनु भयो । ज्ञान र श्रोतको अभावमा सामान्य समस्या पनि जटिल बन्ने गरेका छन् । त्यसैले मिलेर काम गर्नुपर्छ, उहाँको जोड थियो ।
कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङ्ले भन्नुभयो — वातावरणमैत्री स्थानीय शासन कार्यक्रम नेपालको सफल र अनुकरणीय कार्यक्रम हो । स्थानीय र बिश्वव्यापी समस्यामा काम गर्ने धेरै छन् । सरकार यी कार्यक्रमहरु एकद्वार नीतिबाट कार्यान्वयन गर्न चाहन्छ, सहसचिव तामाङ्ले सरकारले लिएको नीतिका बिषयमा प्रकाश पार्नुभयो । जनतालाई नागरिक बनाउन नगरस्तरीय कार्यक्रम चाहिन्छ । कार्यक्रममा इक्लीका उपमहासचिव एवं दक्षिण एशियाली क्षेत्रका कार्यकारी निर्देशक इमनि कुमारले — नगर प्रमुखहरुको जवाफदेहिताले मात्र जनता नागरिक हुन सक्नेमा बताउनुभयो । स्थानीय सरकार प्रमुखहरुमा दिगो बिकासका सूचक र त्यसका आयाममा गहिरो चाख हुनु पर्छ अनि मात्र नगरको दिगो बिकास हुन्छ । इमनिको जोड थियो ।
आपसी सिकाइले बिकासमा आत्मबिश्वाश बढाउँछ । यसले दिगो बिकासको आधार तयार पार्छ । कार्यक्रममा अन्तरराष्ट्रिय बिकास अनुसन्धान केन्द्रका, जलबायु परिवर्तन बिशेषज्ञ भीम अधिकारीले, बिकासोन्मुख देशले बिकास याृजना तर्जुमा गर्दा जलबायु परिवर्तनका असर जस्ता बिश्वव्यापी पक्षमा सचेत हुन आग्रह गर्नुभयो । सिुकाइ र असल अभ्यासबाट ज्ञान लिने र स्थानीय आवश्यकता अनुसार कार्यक्रम सञ्चालन गर्नु अहिलेको आवश्यकता हो । उहाँको जोड थियो ।
जलबायु परिवर्तनका असर अनुभूति गराउन कार्यक्रममा नेपालका महिलाहरुले कृषिमा भोगिरहेका समस्या र समस्याको समाधान खोज्न गरिएको प्रयासलाई दृश्य—दृश्य कथामा तयार पारिएको सामाग्री ‘फारमर्स अफ द फ्युचर’ प्रस्तुत गरिएको थियो । त्यस्तै ‘जलबायु परिवर्तन ज्ञान एजेन्ट’, ‘लैङ्गिक समानता र समाजिक समावेशिकरण’ ‘पानी, खाना र उर्जा’ लगायत बिषयमा सामुहिक छलफल र प्रस्तुतिकरण गरिएको थियो ।
इक्ली दिगो स्थानीय सरकारका लागि नीति पैरवी गर्ने अन्तरराष्ट्रिय सञ्जाल हो । यस सञ्जालमा २५ बढी देशका १२४ बढी नगरसहित १७५० भन्दा बढी सदस्य छन् । यस सञ्जालमा आवद्ध सदस्य तथा बिशेषज्ञहरुले सामुहिक सिकाइ र सहभागिताबाट प्रणालीमा आधारित क्षमता बिकास एवं दिगो सहरीकरणमा वकालत गर्छन् ।