पोखरा महानगरपालिकामा भिडियोबाटै बैठक

Share

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र धुलिखेल नगरपालिकाका मेयर अशोककुमार ब्यञ्जुले बिहीबार भिडियो कुराकानी गरे ।

नगरपालिका संघका अध्यक्षसमेत रहेका ब्येञ्जुसँग पोखराका मेयर जिसीले स्थानीय सरकार गठन भएको २ वर्ष बितिसक्यो, संघले के काम गर्दैछ ? भन्ने प्रश्न राखे ।
ब्यञ्जुले उत्तर दिए ‘अहिले हामी संस्थागत सुुदृढिकरण गर्ने, अन्तर्राष्ट्रिय सम्बन्ध बढाउने लगायतका काम गर्दैछौं ।’

पोखराका मेयरले अर्को प्रश्न सोधे ‘सयौं कानुन बन्न बाँकी रहेको छ, त्यसलाई छिटोभन्दा छिटो बनाउन संघ के गर्दैछ ’? संघका अध्यक्ष ब्यञ्जुले एकल अधिकार प्राप्त भएका कानुन तथा नीति नियम बनाइसकेको र बाँकी कानुनहरुसमेत लेख्ने र व्यवस्थापन गर्ने काम भइरहेको जानकारी दिए ।

मेयर ब्यञ्जुले बाँकी रहेका कानुनहरु बनाउन काठमाडौं विश्वविद्यालयसँग समन्वय गरिरहेको र ती कानुन क्रमश बनाउँदै जाने पोखराका मेयर जिसीलाई ‘भिडियो रिपोर्टिङ’ गरे ।

‘स्थानीय तहका कानुन, कामकारबाही र नीतिनियमबारे बुझ्न, सच्याउन, सहकार्य तथा समन्वय गर्न लबिङ सेन्टर बनाउँदैछौं,’ उनले भने, ‘७ वटा प्रदेशमा ९ लबिङ सेन्टर बनाउँदैछौं । गण्डकीका लागि पोखरा महानगरलाई तोकेका छौं । त्यसले प्रदेशका सम्पूर्ण नगरपालिका हेर्नेछ ।’

उनले लबिङ सेन्टरले अनुभव आदानप्रदान गर्ने, एउटा र अर्को नगरपालिकाबीच सिक्ने तथा नीति नियम र कानुनबारे प्रष्ट पार्न सहयोग गर्ने सुनाए ।

पोखरा महानगरपालिका नगरपालिकाहरुको पहिलो ‘लबिङ सेन्टर’ सेन्टर भएको छ । यही कार्यक्रम अन्तर्गत बिहीबारदेखि भिडियो ‘कन्फ्रेन्स प्रविधि’ सुरुवात भएको हो ।

प्रविधिको उद्घाटनका क्रममा मेयर जिसी र ब्यञ्जुले एकआपसमा भिडियाबाटै कुराकानी गरेका हुन् । मेयर जिसीले प्रविधिको सुरुआत गर्दै गण्डकी प्रदेशका सबै नगरपालिका अब पोखरा महानगरपालिकासँग जोड्ने काम पनि सुरु भएको बताए ।

मेयर जिसीले वडावडामा यो प्रविधि पुर्‍याएर काम कारबाहीबारे जानकारी लिने बताए । ‘अब वडावडामा यो प्रविधि लागू हुन्छ । त्यसो भयो भने कुनै पनि वडाध्यक्ष फाइल बोकेर हस्याङफस्याङ गर्दै महानगर धाउनु पर्दैन,’ मेयर जिसीले भने, ‘भिडियोबाटै अब सबै काम गर्न सकिन्छ ।’

पोखरा महानगरपालिका प्रमुख प्रशाकीय अधिकृत शेषनारायण पौडेलले पोखरा महानगर ‘भर्चुअल गर्भमेन्स’तर्फ उन्मुख भएको बताए । उनले भिडियोबाटै बैठक तथा सेमिनार गर्न सकिने जानकारी दिए ।

‘अब भौतिक शरीरले फरक पार्दैन । गाडी, प्लेन चढेर लामोलामो दूरी पुगिरहनु पनि पर्दैन,’ उनले भने, ‘यसले वडा र महानगरको दूरी छोट्याउने काम गरेको छ ।’ उनले अन्य स्थानीय तहसँग ‘कम्युनिकेट’ गर्न पनि सजिलो भएको दाबी गरे ।

नेपाल नगरपालिका संघले ७ प्रदेशका ९ वटा ठाउँमा ‘लबिङ सेन्टर’ बनाइरहेको र त्यसैमा पोखरा महानगरमा पहिलो पटक सुरुआत गरिएको नगरपालिका संघका प्रमुख कार्यकारी अधिकृत कलानिधि देवकोटाले जानकारी दिए ।

उनले नेपाल रिसर्च एन्ड एजुकेसन नेटवर्क (एनआरईएन) सँगको सहकार्यमा भिडियो कन्फ्रेन्स सिस्टम लागू गर्न लागेको बताए । ‘पछि सबै लबिङ सेन्टरमा यही रिसर्च सेन्टरले भिडियो कन्फ्रेन्सका लागि व्यवस्थापन मिलाउन सहयोग गर्नेछ,’ उनले भने, ‘सबै स्थानीय तहदेखि केन्द्रसम्मलाई एकै ठाउँमा जोड्न यो प्रविधि लागू गरेका हौं ।’

देवकोटाले भिडियो कन्फ्रेन्स प्रविधि लागू भइसकेपछि सबै स्थानीय तहबीच समानान्तर सिकाइ हुने विश्वास व्यक्त गरे । ‘बढी जान्नेले कम जान्नेलाई सिकाउने होइन । यस प्रविधिबाट समानान्तर सिकाइ हुनेछ,’ उनले भने, ‘सबै स्थानीय तह ‘नेटवर्क र कम्युनिकेसन’ गर्ने थलोका रुपमा यो प्रविधि भरपर्दो हुनेछ । यो साधन हो साध्य होइन ।’

पोखरा महानगरमा ‘भिडियो कन्फ्रेन्स’ प्रविधि लागू गर्न संघले ३ लाख ७५ हजार रुपैयाँ लगानी गरेको छ । भिडियो कन्फ्रेन्सका लागि महानगरले टिभी परिवर्तन गर्नु परेकाले ५० हजार रुपैयाँ समेत लगानी गरेको महानगरकी आईटी अफिसर शर्मिला गौतमले जानकारी दिइन् ।